मातृका माओवादीद्वारा परिवारै गाउँ निकाला

मातृका यादवले नेतृत्व गरेको माओवादी कार्यकर्त्ताको एक समूहले धनगढीको जिरोमाइलका रामचन्द्र पालको घर तोडफोड गरी शुक्रवार गाउँ निकाला गरेको छ ।

विष्णुपुरकट्टीका चौधरी महतो, चैनपुरका श्रीप्रसाद यादव, सोही ठाउ बस्ने सूर्यनाथ यादव, मौहवाडाडाका रामगणेश यादव, रामउदगार महतो, धनिराम महतो, गौरीपुरका कपिल महतोलगायत २०/२५ जनाको समूहले पालसहित उनका परिवारजनलाई कुटपिट गरी गाउँ निकाला गरेको हो ।

पाल, उनका पत्नी र दुई छोराछोरीलाई उनीहरुले घिसार्दै कुटपिट गरेको स्थानीय प्रत्यक्षदर्शी जगदिस साहले बताए । पीडित पाल परिवारजनसहित भागेर गोलबजारमा बसेको छ । आफ्ना छोराछोरीको लुगा समेत लिन नदिइ घर निकाला गरेको पालले रुदैँ बताए । आफू माओवादी द्वन्द्वकालमा माओवादीमा नै लागेका कारण १८ महिना जेल जीवन बिताए पनि अहिले सोही माओवादीहरुले आफू र आफ्ना परिवारलाई कुटपिट गर्दै घर तोडफोड गरेको गुनासो पोखे ।

स्थानीय देबमनी लामासंग किनेको ९ कठ्ठा १६ धुर घडेरी जग्गामा २० बर्षदेखि घर बनाएर पाल बसोबास गर्दै आएका थिए । पालले उक्त जग्गा सो समयको दरभावमा ८२ हजारमा किनेको पीडितले बताए । पालले किनेको जग्गामध्ये लामाको ३ कठ्ठाको मात्रै नम्बरी भएकोले सो जग्गा मात्र रजिष्ट्रेसन पास भएको थियो । बाँकी जग्गा ऐलानी रहेको पीडितले बताए ।

सो जग्गामा नै पालले घर बनाएर बसोबास गर्दै आएका थिए । उक्त जग्गा पूर्व पश्चिम लोकमार्गसंग जोडिएकोले प्रति कठ्ठा दुई करोडको मूल्यमा बिक्री हुने भएकोले स्थानीय भू माफियाहरुले जग्गा कब्जा गर्ने उद्देश्यले पालको घर तोडफोड गरेको स्थानीयबासीको भनाइ छ ।

उक्त जग्गा खाली गर्न उनीहरुले एक साता पहिलेदेखि नै धम्की दिदै आएकोले इलाका प्रहरी कार्यालय धनगढी र जिल्ला प्रशासन कार्यालय सिरहामा समेत जाहेरी दर्खास्त दर्त्ता गराए पनि आफ्नो घर तोडिएको गुनासो पोखे ।

उनीहरुले जग्गा खाली गराउन घर तोडफोड गर्न सक्न देखेर पूनरावेदन अदालत राजविराजमा निषेधाज्ञा जारी गर्न माघ २७ गते मुद्दा समेत दर्त्ता गराएको पालले बताए । बिहीवार पूनरावेदनमा भएको बहसले निषेधाज्ञा समेत जारि गरी सकेको उनले भने ।

चौधरी महतोका अनुसार पालले अरुको जग्गामा राखेको कठघारा मात्रै उठाएर उनको जग्गामा राखी दिएको हो । घर तोडफोड र उनीहरुलाई कुटपिट आफूहरुले नगरेको महोले बताए । लामाका छोरा सुरेन्द्रमनीले पालले घर बनाएको जग्गा मालपोतमा छुटमा दर्त्ता भएको र सो जग्गा आफ्नो भएको बताए ।

घर तोडफोड नगर्न इलाका प्रहरी कार्यालय धनगढीमा जानकारी गराए पनि बेवास्ता गरेको पालले गुनासो पोखे । प्रहरी उपरीक्षक रमेश भट्टराईले उनीहरुको जग्गा विवाद पहिले देखिनै रहेको र घर तोडफोड भएको सुनेर धनगढी प्रहरीलाई खटाएको बताए ।

Powered by Blogger.